Home Article Child चुनौती बनेका सडक बालकहरु

चुनौती बनेका सडक बालकहरु

Print PDF
User Rating: / 1
PoorBest 

धरानको सडकमा थोत्रे बोरा लिएर प्लाष्टिक र फलाम खोज्ने मध्ये २२ जना सडक बालकहरु परिवारमा पुनर्स्थापना हुन नसकेको रिपोर्ट र्सार्वजनिक भइसकेको छ । उनीहरुको घर धरानमै भए पनि घर नगएको र परिवार संग भेटघाट नगरेको सरदर सात आठ बर्ष भइसकेको छ ।

सडक जीवन विताउने सवै सडक बालकहरु अत्यन्त्यै पिछडिएको, गरिव र अशिक्षित परिवार बाट आएका छन् । यहां गरिवी र अभावको कारण उनीहरु परिवार छाडेर सडक जीवन विताउन बाध्य भएको देखिए पनि यही मात्र तर्कलाई सम्पूर्ण कारक तत्व मान्न सकिन्न । रहर त पक्कै होइन सडक जीवन विताउनु । गजबको तथ्य यस्तो पनि छ, सडक जीवन विताउने मध्ये तीन जोडी दाजुभाई तीन परिवारबाट आएका छन् ।

 

१४ बषिर्य विनोद श्रेष्ठ र उनका १२ बर्षीय सहोदर भाई विकास करिव सात बर्षदेखि धरानमा सडक जीवन विताइरहेका छन् । उनीहरुका बावु मरिसकेका छन् । आर्थिक अभावले आक्रान्त श्रेष्ठ दाजुभाइका लागि आमाले खान, वस्न र स्वास्थ्य शिक्षाका लागि कुनै व्यवस्था गर्न नसके पछि घर छाडेर सडकमा आउनु परेको हो । पारिवारिक मुल्य मान्यता विपरित बालबालिका प्रति अभिभावकहरुले भेदभाव पूर्ण व्यवहार गरे पछि उनीहरु जस्तै सडकमा आउने बालबालिकाको संख्या धरानमा बढिरहेको छ ।

श्रेष्ठ दाजुभाई जस्तै घर परिवारबाट विस्थापित भएर सडक बालक बन्न बाध्य दाजुभाईहरु १४ बर्षीय जयप्रकाश तामाङ र १२ बर्षीय अनिल तामाङ, सोही उमेरका दाजु भाईहरु प्रकाश श्रेष्ठ र सुरज श्रेष्ठ पनि हुन् । पारिवारिक मुल्य मान्यता विपरित बालबालिका प्रति अभिभावकहरुले भेदभाव पूर्ण व्यवहार गरे पछि उनीहरु जस्तै सडकमा आउने बालबालिकाको संख्या धरानमा बढिरहेको छ । हरेक बालबालिकाले आफ्नो परिवार जतिसुकै कंगाल किन नहोस् अभिभावकको माया संगै राम्रो लुगा लगाउने, मीठो भात खाने, चिटिक्क परेर स्कूल जाने सपना देख्छन् । जव यस्ता बाल सुलभ सपना एक पछि अर्को गर्दै टुट्छ उनीहरु आफ्नै घर परिवार र अभिभावक प्रति विस्वस्त बन्न छाड्छन् । अर्थात घरमै असुरक्षित हुन पुगेको महसुस गर्छन । र, उपायको रुपमा उनीहरु घर छाडेर सडक जीवन अपनाउन पुग्छन् । उप्का नेपालले एक दशकको अवधिमा पाचसय ९३ जना सडक बालबालिकालाई परिवारमा पुनर्स्थापना गरिसकेको छ ।

परिवारबाट सडकमा आएका थुप्रै सडक वालकहरु जोखिम पूर्ण जीवन विताउन बाध्य छन् । सडक नै घर, ओढ्ने, ओछ्याउने र खेल्ने, डुल्ने, प्लाष्टिक बटुल्ने थलो भएको छ । सडक भन्दा परको जीवन उनीहरु सोच्न पनि सक्दैनन् । हिउदको कठाङ्गीरने जाडो होस वा ग्रीष्मको ज्यानै पिल्सने गर्मी, मुसलधारे पानी परोस् वा हुरी बतास चलोस् उनीहरुका लागि प्रीय बनेको छ, सडक । त्यसैले उनीहरुलाइ सडक बालक भनिएको हो । एक दशक अघि उनीहरुलाई खाते भनिन्थ्यो । खाते भनेर उनीहरुलाई बोलाउदा होच्याएको, हेपेको, खसाएर बोलाएको भन्ने अर्थलाग्न थाले पछि खाते नामको सट्टा सडक बालक भनिन थालेको पनि धरान बाटै हो ।

जाेखिमपूर्ण जीवन विताउने तिनै सडक बालकहरु किशोर उमेर कटे पछि समाजका लागि चुनौती बनेका छन् । सिक्नु पर्ने, पढ्नु पर्ने उनीहरुको उमेर प्लाष्टिक र फलाम खोज्दा खोज्दै बिते पछि सामाजिक र पारिवारिक दायित्वबाट टाढा रहन पुगेकाले जस्तो सुकै अपराध गर्न पनि उनीहरु तयार हुन सक्छन् । पारिवारिक सम्बन्ध, संवेदनशीलता, माया, ममता, आफन्तसंगको सम्बन्ध, सामाजिक मूल्य-मान्यताको बोध उनीहरुमा नहुनु स्वाभाविक हो । सानैमा धेरै दुख पीडा, भोक तिर्खा, रोग, अभाव संग जुझेर किशोर उमेरमा पुग्दा उनीहरु परिपक्व भएको महसुस गर्छन् ।

पारिवारिक मुल्य र मान्यता मानिसको लागि बाच्ने अत्यन्तै महत्वपूर्ण कडी हो । तर यो कडी नै विचलनमा परेर कमजोर भए पछि त्यस परिवार र समाज प्रति लगाव नरहन सक्छ । कुनै जिम्मेवारी नै नरहे पछि परिवार र समाजको लागि सकारात्मक धारणा बनाउनु भन्दा नकारात्मक धारणा बढी आउनु पनि स्वाभाविक मान्न सकिन्छ । यस्तो मानसिक अवस्थामा पुगेको र परिपक्व सडक युवा बन्न पुगेको अवस्थामा उनीहरु समाजका लागि चुनौती बन्ने निश्चीत छ ।

धरान स्थित सुविधाविहिन बालबालिकाका लागि कार्यरत संस्था उप्का नेपालका अनुसार गरिवि, पारिवारिक कलह र पारिवारिक माया नपाउदा बालबालिकाहरु घर छाडेर सडकमा आउने गर्छन् । आफ्नो बच्चा सानो भए सम्म खोजेर भए पनि खुवाउने जिम्मा अभिभावकको हो । तर भात दिन नै नसकेर घरबाट निकाले पछि कता जाउन् विचरा बच्चाहरु -सडकमा प्लाष्टिक, फलाम र सिसा बटुलेर विक्रिवितरण गरेको रकमले जोखिमपूर्ण जिविका चलाउदै आएका उनीहरुको पुनर्स्थापनाका लागि उप्काले पटक पटक पहल गरे पनि परिवारले सहजरुपमा स्वीकार नगरे पछि सडक जीवन विताउन बाध्य भएका छन् ।

सडक जीवन विताउने उनीहरुको उमेर आठ देखि १६ सम्म रहेको छ । सडकमा आउने मध्ये कोही कान्छि आमाले खेदाएर, कोही कान्छा बाबुले निकालेर, कोही भेदभावको शिकार र अन्य पारिवारिक दुर्व्यवहार सहन नसकेर स्वतन्त्र तर जोखिमपूर्ण जीवन विताउन चाहनेहरु छन् ।

उप्काको सडकमा आधारित कार्यक्रमका बाल सहजकर्ता सरोज र्राईका अनसुसार ती मध्ये धेरैलाई परिवारमा पुनर्स्थापना गर्न खोजीएको भए पनि भेदभावको कारण फेरि सडकमा फर्केर आएका छन् । सरोज आफै पनि पूर्व सडक बालक हुन् । उनको अनुभव छ, जति जना पुनर्स्थापना गरिन्छ त्यति नै बालकहरु सडकमा देखा पर्छन् । कतिपय त घरमा पुनर्स्थापित भए पनि केहि समय पछि सडक मै आउने गरेका छन् ।

तर परिवारमा पुनर्स्थापना हुन नसकेका ती सडक बालकहरुलाई उचित शिक्षा दिएर सामाजिकरण तर्फमोड्न नसके धरानको लागि निकट भविष्यमा समस्याको रुप लिन सक्ने छ । ती सडक बालकहरु ठूला भए पछि सामाजिकरणको अभावमा उनीहरु मानसिक रुपले उत्तरदायित्वविहिन हुन पुग्ने र चोरी लुटपाट हुन सक्ने भएकोले बेलैमा सरोकारवालाहरु सचेत बन्नु पर्ने बेला आइसकेको छ ।

- प्रदीप मेयाङ्बो

 

Add comment


Poll

What sort of information do you expect to focus in our Portal?






News Flash

Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon.

Thank You !!!