धरानको सडकमा थोत्रे बोरा लिएर प्लाष्टिक र फलाम खोज्ने मध्ये २२ जना सडक बालकहरु परिवारमा पुनर्स्थापना हुन नसकेको रिपोर्ट र्सार्वजनिक भइसकेको छ । उनीहरुको घर धरानमै भए पनि घर नगएको र परिवार संग भेटघाट नगरेको सरदर सात आठ बर्ष भइसकेको छ ।
सडक जीवन विताउने सवै सडक बालकहरु अत्यन्त्यै पिछडिएको, गरिव र अशिक्षित परिवार बाट आएका छन् । यहां गरिवी र अभावको कारण उनीहरु परिवार छाडेर सडक जीवन विताउन बाध्य भएको देखिए पनि यही मात्र तर्कलाई सम्पूर्ण कारक तत्व मान्न सकिन्न । रहर त पक्कै होइन सडक जीवन विताउनु । गजबको तथ्य यस्तो पनि छ, सडक जीवन विताउने मध्ये तीन जोडी दाजुभाई तीन परिवारबाट आएका छन् ।
१४ बषिर्य विनोद श्रेष्ठ र उनका १२ बर्षीय सहोदर भाई विकास करिव सात बर्षदेखि धरानमा सडक जीवन विताइरहेका छन् । उनीहरुका बावु मरिसकेका छन् । आर्थिक अभावले आक्रान्त श्रेष्ठ दाजुभाइका लागि आमाले खान, वस्न र स्वास्थ्य शिक्षाका लागि कुनै व्यवस्था गर्न नसके पछि घर छाडेर सडकमा आउनु परेको हो । पारिवारिक मुल्य मान्यता विपरित बालबालिका प्रति अभिभावकहरुले भेदभाव पूर्ण व्यवहार गरे पछि उनीहरु जस्तै सडकमा आउने बालबालिकाको संख्या धरानमा बढिरहेको छ ।
श्रेष्ठ दाजुभाई जस्तै घर परिवारबाट विस्थापित भएर सडक बालक बन्न बाध्य दाजुभाईहरु १४ बर्षीय जयप्रकाश तामाङ र १२ बर्षीय अनिल तामाङ, सोही उमेरका दाजु भाईहरु प्रकाश श्रेष्ठ र सुरज श्रेष्ठ पनि हुन् । पारिवारिक मुल्य मान्यता विपरित बालबालिका प्रति अभिभावकहरुले भेदभाव पूर्ण व्यवहार गरे पछि उनीहरु जस्तै सडकमा आउने बालबालिकाको संख्या धरानमा बढिरहेको छ । हरेक बालबालिकाले आफ्नो परिवार जतिसुकै कंगाल किन नहोस् अभिभावकको माया संगै राम्रो लुगा लगाउने, मीठो भात खाने, चिटिक्क परेर स्कूल जाने सपना देख्छन् । जव यस्ता बाल सुलभ सपना एक पछि अर्को गर्दै टुट्छ उनीहरु आफ्नै घर परिवार र अभिभावक प्रति विस्वस्त बन्न छाड्छन् । अर्थात घरमै असुरक्षित हुन पुगेको महसुस गर्छन । र, उपायको रुपमा उनीहरु घर छाडेर सडक जीवन अपनाउन पुग्छन् । उप्का नेपालले एक दशकको अवधिमा पाचसय ९३ जना सडक बालबालिकालाई परिवारमा पुनर्स्थापना गरिसकेको छ ।
परिवारबाट सडकमा आएका थुप्रै सडक वालकहरु जोखिम पूर्ण जीवन विताउन बाध्य छन् । सडक नै घर, ओढ्ने, ओछ्याउने र खेल्ने, डुल्ने, प्लाष्टिक बटुल्ने थलो भएको छ । सडक भन्दा परको जीवन उनीहरु सोच्न पनि सक्दैनन् । हिउदको कठाङ्गीरने जाडो होस वा ग्रीष्मको ज्यानै पिल्सने गर्मी, मुसलधारे पानी परोस् वा हुरी बतास चलोस् उनीहरुका लागि प्रीय बनेको छ, सडक । त्यसैले उनीहरुलाइ सडक बालक भनिएको हो । एक दशक अघि उनीहरुलाई खाते भनिन्थ्यो । खाते भनेर उनीहरुलाई बोलाउदा होच्याएको, हेपेको, खसाएर बोलाएको भन्ने अर्थलाग्न थाले पछि खाते नामको सट्टा सडक बालक भनिन थालेको पनि धरान बाटै हो ।
जाेखिमपूर्ण जीवन विताउने तिनै सडक बालकहरु किशोर उमेर कटे पछि समाजका लागि चुनौती बनेका छन् । सिक्नु पर्ने, पढ्नु पर्ने उनीहरुको उमेर प्लाष्टिक र फलाम खोज्दा खोज्दै बिते पछि सामाजिक र पारिवारिक दायित्वबाट टाढा रहन पुगेकाले जस्तो सुकै अपराध गर्न पनि उनीहरु तयार हुन सक्छन् । पारिवारिक सम्बन्ध, संवेदनशीलता, माया, ममता, आफन्तसंगको सम्बन्ध, सामाजिक मूल्य-मान्यताको बोध उनीहरुमा नहुनु स्वाभाविक हो । सानैमा धेरै दुख पीडा, भोक तिर्खा, रोग, अभाव संग जुझेर किशोर उमेरमा पुग्दा उनीहरु परिपक्व भएको महसुस गर्छन् ।
पारिवारिक मुल्य र मान्यता मानिसको लागि बाच्ने अत्यन्तै महत्वपूर्ण कडी हो । तर यो कडी नै विचलनमा परेर कमजोर भए पछि त्यस परिवार र समाज प्रति लगाव नरहन सक्छ । कुनै जिम्मेवारी नै नरहे पछि परिवार र समाजको लागि सकारात्मक धारणा बनाउनु भन्दा नकारात्मक धारणा बढी आउनु पनि स्वाभाविक मान्न सकिन्छ । यस्तो मानसिक अवस्थामा पुगेको र परिपक्व सडक युवा बन्न पुगेको अवस्थामा उनीहरु समाजका लागि चुनौती बन्ने निश्चीत छ ।
धरान स्थित सुविधाविहिन बालबालिकाका लागि कार्यरत संस्था उप्का नेपालका अनुसार गरिवि, पारिवारिक कलह र पारिवारिक माया नपाउदा बालबालिकाहरु घर छाडेर सडकमा आउने गर्छन् । आफ्नो बच्चा सानो भए सम्म खोजेर भए पनि खुवाउने जिम्मा अभिभावकको हो । तर भात दिन नै नसकेर घरबाट निकाले पछि कता जाउन् विचरा बच्चाहरु -सडकमा प्लाष्टिक, फलाम र सिसा बटुलेर विक्रिवितरण गरेको रकमले जोखिमपूर्ण जिविका चलाउदै आएका उनीहरुको पुनर्स्थापनाका लागि उप्काले पटक पटक पहल गरे पनि परिवारले सहजरुपमा स्वीकार नगरे पछि सडक जीवन विताउन बाध्य भएका छन् ।
सडक जीवन विताउने उनीहरुको उमेर आठ देखि १६ सम्म रहेको छ । सडकमा आउने मध्ये कोही कान्छि आमाले खेदाएर, कोही कान्छा बाबुले निकालेर, कोही भेदभावको शिकार र अन्य पारिवारिक दुर्व्यवहार सहन नसकेर स्वतन्त्र तर जोखिमपूर्ण जीवन विताउन चाहनेहरु छन् ।
उप्काको सडकमा आधारित कार्यक्रमका बाल सहजकर्ता सरोज र्राईका अनसुसार ती मध्ये धेरैलाई परिवारमा पुनर्स्थापना गर्न खोजीएको भए पनि भेदभावको कारण फेरि सडकमा फर्केर आएका छन् । सरोज आफै पनि पूर्व सडक बालक हुन् । उनको अनुभव छ, जति जना पुनर्स्थापना गरिन्छ त्यति नै बालकहरु सडकमा देखा पर्छन् । कतिपय त घरमा पुनर्स्थापित भए पनि केहि समय पछि सडक मै आउने गरेका छन् ।
तर परिवारमा पुनर्स्थापना हुन नसकेका ती सडक बालकहरुलाई उचित शिक्षा दिएर सामाजिकरण तर्फमोड्न नसके धरानको लागि निकट भविष्यमा समस्याको रुप लिन सक्ने छ । ती सडक बालकहरु ठूला भए पछि सामाजिकरणको अभावमा उनीहरु मानसिक रुपले उत्तरदायित्वविहिन हुन पुग्ने र चोरी लुटपाट हुन सक्ने भएकोले बेलैमा सरोकारवालाहरु सचेत बन्नु पर्ने बेला आइसकेको छ ।
- प्रदीप मेयाङ्बो
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |