'ए कान्छी काली-काली' बोलको गीतबाट नेपाली संगीत क्षेत्रमा स्थापित समूह हो- "धनकुटे" । धनकुटाका युवाहरु मिलेर स्थापना गरेको यो समूहका गायक हुन् पियूष श्रेष्ठ । भलिबलका राष्ट्रिय खेलाडीसमेत रहेका गायक श्रेष्ठले एकलरूपमा 'फरलन' नामको एल्बमसमेत निकालिसकेका छन् । नेपाली संगीत क्षेत्रमा स्थापित भएर पनि केही सांगीतिक कार्यक्रमपछि गायक पियूष एक्लिए । सबै साथी विदेशतिर लागेपछि उनी धनकुटे समूहमार्फत् विभिन्न सांगीतिक कार्यक्रममा बेलाबखत मात्र देखापर्दथे । हाल हङकङमा बसोबास गर्दै आएका गायक श्रेष्ठ नयाँ एल्बम 'अफ्टर टेन र्इयर्स' ल्याउने तयारीमा छन् । हङकङबाट यसै सातामात्र जन्मथलो आएका गायक पियूषसँगको छोटो कुराकानी :-
के गर्दै हुनुहुन्छ अहिले ?
खासै केही छैन । केही घरायसी काम छ । दुइचार दिनमा काठमाडौं गएर नयाँ एल्बम 'अफ्टर टेन र्इयर्स' रिलिज गर्दैछु ।
एल्बमको नाम 'अफ्टर टेन र्इयर्स’ किन ?
धनकुटे समूहमार्फत् 'ए कान्छी काली-काली' गीत इमेज च्यानलमा भिज्युल भएको १० वर्ष पुगिसक्यो । त्यो गीत हिट भएको लगत्तै अर्को एल्बम निकाल्ने तयारी गरे पनि विभिन्न कामले निरन्तरता दिन सकेको थिइनँ । एल्बम तयार गर्दा १० वर्ष कटेको पनि पत्तै भएन । त्यही भएर एल्बमको नाम नै 'अफ्टर टेन र्इयर्स' राखेको ।
यो १० वर्ष के के गर्नुभयो ?
केही समय धनकुटामै व्यापार गरें । त्यसपछि हङकङ गइयो । अहिले हङकङमा नै काम गर्दैछु । बेला-बेलामा नेपाल आइरहन्छु । नेपाल आएको समयमा सांगीतिक रमझममा रमाउने गर्छु ।